कान्तिपुर समाचार | मन्त्रीपरिषद् बिस्तार हुन सकेन
1,244 views · Published 22 February 2018 · 2:09 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा कुरा मिल्न नसक्दा हिजो पनि मन्त्रीपरिषद् बिस्तार हुन सकेन। दुवै दलका नेताहरुले हिजो मन्त्रीपरिषद् विस्तार हुने बताएपनि मन्त्रालय बाँडफाँटमा सहमति नजुटेपछि सरकार विस्तार हुन नसकेको हो । मन्त्रालय भागवण्डामा सहमति जुटाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । फागुन ३ गते नयाँ सरकार गठन भए यता सरकार बिस्तारवारे दुइ दलबीच विभिन्न चरणमा भएका छलफल भएपनि सहमति हुन सकेको छैन् । दुई अध्यक्षबीच वालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले महत्वपूर्ण र विकाससँग सम्वन्धित मन्त्रालयहरु साझेदारी हुनुपर्ने धारणा राख्नुभएको थियो । माओवादीले गृह, भौतिक पूर्वाधार, उर्जा, शहरी विकास सहितका मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । एमालेले गृह, अर्थ, परराष्ट्र सहितका मन्त्रालय आफुले पाउनुपर्ने अडान राखेको छ । दुई अध्यक्ष विच मन्त्रालयको संख्या १८ भन्दा नबढाउनेबारे पनि छलफल भएको थियो । संविधानमा मन्त्रीपरिषद्को संख्या २५ भन्दामाथि बनाउन नपाउने व्यवस्था छ । मन्त्रालयको बाँडफाँटमा कुरा नमिल्दा दुबै दलले मन्त्रीको नाम समेत टुङ्गो लगाउन सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै भएकाले दुवै दललाई छनोट गर्न सकस परेको छ । एमालेमा महासचिव ईश्वर पोखरेल लगायत पार्टी पदाधिकारीहरु नै मन्त्री बन्ने दौडमा छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट चर्चामा छन् । यस्तै संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रविन्द्र अधिकारी र शेरबहादुर तामाङ लगायत पनि मन्त्रीका लागि चर्चामा छन् । यस्तै माओवादी केन्द्र रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागि हुने करिव करिव निश्चित भएको नेताहरुको भनाइ छ । माओवादीबाट मन्त्रीका लागि बर्षमान पुन, पम्फा भुषाल, मातृका यादव, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अग्नी सापकोटा, जयपुरी घर्ती लगायतका नेताहरु चर्चामा छन् । ओली नेतृत्वको सरकारमा एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री हुनुहुन्छ ।